दैलेखका सांसद लक्ष्मी पोखरेलले प्राकृति संरक्षण गर्दै जिल्लाको उत्पादन बृद्धि गर्न सम्बन्धित निकायहरुलाई सुझाव दिएका छन् । बलिया देशहरुले नेपालको कृषि व्यवसायलाई कमजोर बनाउन बिभिन्न खाले षडयन्त्रहरु गरेको भन्दै पोखरेलले जिल्ला मात्र नभै नेपालमा भएका पुराना बालिहरुलाई संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।
पौष्ठिक आहारको रुपमा रहेका पुराना बालीहरु संरक्षण सँगै उपभोग गर्नुपर्ने सुझाव पोखरेलको छ । पहाडी कृषि पारिस्थितिकीय प्रणालीमा पोषण कार्यक्रम अन्तरगत दैलेखमा गरिएको बृहत अन्तरक्रियामा बोल्दै पोखरेलले मौलिक हकका रुपमा खाद्य सुरक्षा र सम्प्रभुताको व्यवस्था भैसकेको बताएका छन् ।
सांसद अमरबहादुर थापाले किसानहरुले उत्पादन गरेका पौष्ठिक आहारयुक्त बस्तुहरु आर्थिक अभावले बिक्रि गर्नुपर्ने बाध्यता भएकोले पोषण सुधारमा समस्या आएको भन्दै उपभोग र उत्पादन दुवैलाई सँगसँगै अगाडी बढाउनुपर्ने सुझाव दिएका छन् । गाउँमा उत्पादन भएका बस्तुहरुको किसानहरुले पहिला उपभोग गरेर बचेको मात्र बिक्रि गर्नुपर्ने कुरालाई अभियानका रुपमा लैजान थापाले सुझाव दिएका छन् । 
सांसद ललिता रेग्मीले गाउँमा पोषणयुक्त चिजहरु धेरै भएको र यसको मात्रात्मक उपभोगमा समस्या आएको बताउँदै गाउँमा उत्पादन भएका भटमास, कोदो, मकै जस्ता बस्तुहरुको उपभोगका लागि गाउँसम्म अभियान थाल्नुपर्ने बताएकी छन् ।
प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले नागरिकको खाद्य अधिकारका लागि कानुनमा उल्लेख गरिएको कुरा पुरा गर्न सरकार तयार रहेको भएपनि सामाजिक परम्परा र आनीवानीमा परिवर्तन गरि पोषणयुक्त खाद्यन्न उपभोग गर्न सवै जागरुक हुनुपर्ने बताएका छन् । जिल्लाभरको पोषण अवस्थाको बारेमा जिल्ला स्वास्थ्य कार्यालय दैलेखका फोकल पर्सन नन्दालाल जैसीले जानकारी गराएका छन् । जिल्लामा उत्पादन भएका बिभिन्न बालिहरु र यसको प्रभावको बारेमा कृषि अनुसंन्धान केन्द्र बागवानी दैलेखका प्रमुख हंसराज चौधरीले जानकारी गराएका छन् ।
जिल्लाका राजनीतिक दल, नागरिक समाज, कृषि, पशु, शिक्षा लगायतका जिम्मेवार सरकारी कार्यालय र जिल्लाको पोषण सुधार अभियानमा लागेका विभिन्न गैर सरकारी संघ संस्थाहरुको उपस्थितीमा गरिएको बृहत अन्तरक्रियामा जिल्ला स्तरमा पोषण तथा खाद्य निर्देशन समिति गठन गरि सो प्रक्रिया इलाका र गाउँस्तर सम्म पु¥याउने, स्थानीय स्तरमा भएका उत्पादनहरुलाई बढावा सँगै उपभोग प्रक्रियामा समावेश गराउने, स्थानीय तरकारी र अन्य बालीहरुमा प्रयोग भएको जैवी बिषादी न्यूनिकरणका लागि अभियान संचालन गर्ने, जिल्लामा पोषण सम्वन्धि काम गरेका बिभिन्न सरकारी तथा गैर सरकारी निकायहरुको समन्वयमा ठोस र उपलब्धि मुलक काम संचालन गर्ने लगायतका कुराहरुमा समहती भएको छ । ग्रामिण सेवा प्रदायक एवं स्थानीय सेवक संस्थाका अध्यक्ष महारुप खत्रीले हेल्भेटासको सहयोगमा पहाडी कृषि पारिस्थितिकीय प्रणालीमा पोषण कार्यक्रम अन्तरगत जिल्लाका ३ वटा विद्यालयहरुमा गरिएको पोषण वगैचा, २ स्थानमा गरिएको सिस्नो प्रशोधन, २ वटा स्थानहरुमा ह्जार दिनका सुत्केरी महिलाहरुको पोषण सुधार र पोषण अभियानमा संचार माध्यामहरुले खेलेको भूमिकाको बारेमा जानकारी गराएका छन् । किसानहरुको सहजता सँगै कृषि र पोषण सुधार अभियानका लागि खोलिएको मान प्लेट फर्मको उपायोगिता र प्रयोगबारे रेडियो ध्रुवतारा सामुदायिक एफ.एम.का स्टेशन म्यानेजर चक्र केसीले जानकारी गराएका थिए । हेल्भेटास जिल्ला संयोजक शिल्पा कुँवरले परियोजनाले केन्द्र देखि जिल्लातह सम्म पोषण सम्वन्धि गर्ने गतिविधिहरुको बारेमा जानकारी गराएकी छन् । अन्तरक्रिया कार्यक्रमको सहजिकरण धमाका दैनिकका सम्पादक बिष्णु शर्माले गरेका थिए ।









